धनगढी, विराटनगर र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडाैं । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो।

बुधबार अस्पतालमा यससम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यसअघि यस्तो सेवाका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोसी प्रदेश अस्पतालसँग सम्झौता भैसकेको छ।यससँगै ३ प्रादेशिक अस्पतालमा सेवा सुरु भएको हो। मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो।

त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए।यसलगत्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित