प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन्।

सांसद मोदीले प्रचण्डले समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरूको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने दाबी गरे।

उनले भने, ‘जनयुद्ध लडेका पार्टीका कमाण्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यी सबैको जनक भनिनु पर्छ। शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ। र नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु।’

मोदीले जनयुद्धलाई हिंसा भन्नेभए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गरे।उनले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न समेत सरकारलाई आग्रह गरे। 

प्रतिक्रिया

सम्बन्धित