५ अर्बको अग्राधिकार सेयर जारी गर्दै नबिल बैंक

यस्ता छन् नबिलको विशेष साधारणसभाले पारित गरेका प्रस्ताव

काठमाडाैं । नबिल बैंकको विशेष साधारणसभाले ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको हो।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी हुने गरी ५ अर्ब रुपैयाँ बराबरको  यस्तो सेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभामा सर्वसम्मत पारित भएको हो।

बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउनमा सेयरधनीलगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सह्राहनीय योगदान प्राप्त भएजस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए। 

‘आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनीलगायत सरोकारवाला पक्षहरूको महत्त्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त छ’, उनले भने। 

सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बैंकले जनाएको छ। 

साथै यो नेपाली पुँजीबजारका लागि नवीनतम पुँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यससम्बन्धी व्यवस्था गरेपश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो। 

सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृतिपश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी ‘अग्राधिकार सेयर’ जारी हुनेछ। नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटीएम र २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशव्यापी रुपमा सेवा प्रदान गरिरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित