८ महिनामा आए ७ लाख २० हजार पर्यटक

काठमाडौं । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ ।

सन् २०२४ को कुन महिनामा कति पर्यटक आए ?

जनवरी : ७९,१००

फेब्रुअरी : ९७,४२६

मार्च : १,२८,१६७

अप्रिल : १,११,३७६

मे : ९०,२११

जुन : ७६,७३६

जुलाई : ६४,५९९

अगष्ट : ७२,७१९

अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो । त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए । नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन ।

खासगरी पूर्वाधार क्षेत्र तहसनहस हुँदा सडक र हवाई यातायात असुरक्षित बनेको छ । यसको नकारात्मक असर पर्यटन क्षेत्रमा समेत देखिएको छ । अगष्टको आगमन सन् २०२३ को तुलनामा भने ८.२९ प्रतिशतले बढेको छ । २०२३ अगष्टमा ६७ हजार १५३ जना पर्यटक आएका थिए । कोभिड महामारीले असर गरेको वर्ष सन् २०२० देखि भने आगमन खस्किएको थियो ।

भारतीय पर्यटक खस्किए, दुर्घटनाको असर कति ?

यो महिनामा भारतबाट मात्र २५ हजार ८३२ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३.१ प्रतिशत कम हो । अघिल्लो वर्ष २६ हजार ६६५ जना भारतीय पर्यटक नेपाल आएका थिए । नेपालले स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्ने गरेको छैन ।

यस वर्ष ठूला सडक र हवाई दुर्घटनाले नेपालको पर्यटकीय छवि बिग्रिएको छ । यसको प्रभाव पर्यटक आगमनमा समेत देखिएको छ । अगष्ट महिनामा श्रीलंकन पर्यटकको आगमन भने उल्लेख्य बढेको छ । यो महिनामा श्रीलंकाबाट ४ हजार ८५१ जना पर्यटक आएका छन् ।

अघिल्लो वर्ष यस मुलुकबाट ३ हजार ८५८ जना पर्यटक आएको तथ्यांक छ । यो महिनामा कुल आगमनको दोस्रो स्थानमा चीन छ । चीनबाट ६ हजार ६१४ जना पर्यटक आएका छन् । गत वर्षको अगष्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक आएका थिए । तेस्रो स्थानमा अमेरिका रहेको छ । यस मुलुकबाट ५ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको यो महिनामा ४ हजार ६२९ जना नेपाल आएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित