ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

एजेन्सी । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली महिला ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन्, जसले उनको बेपत्तामा श्रीमान् नरेश भट्टको संलग्नता भएको आशंकालाई बल पुर्‍याएको छ।

मनसास पार्क प्रहरीले नरेश भट्टलाई ममताको बेपत्तामा संलग्न भएको आरोपमा थुनामा राखेको छ। अदालतमा भएको सुनवाइका क्रममा अभियोजन पक्षले प्रस्तुत गरेका तस्वीरहरुमा भट्टको घरभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिएको छ। ममता १५ साउनमा सम्पर्कविहीन भएकी थिइन् र घरमा भारी मात्रामा रगत फेला परेपछि ७ भदौमा नरेशलाई पक्राउ गरिएको थियो।

अदालतमा अभियोजन पक्षले नरेशले श्रीमतीको मृत्युपछि कति समयपछि विवाह गर्न सकिन्छ भनेर गुगलमा सर्च गरेको पनि पत्ता लागेको बताएका छन्। ममता बेपत्ता भएपछि नरेशले आफ्नो कार बिक्री गरेको र घर पनि बिक्री गर्न खोजेको प्रमाण फेला परेको छ। ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर चार वर्षअघि विवाह भएको थियो, तर पछिल्लो समयमा ममताले घरमा हिंसा भइरहेको र सम्बन्धविच्छेदको बारेमा सोचिरहेकी थिइन्।

ममताको खोजी कार्य जारी छ भने नरेशलाई थुनामै राख्ने आदेश दिइएको छ, कारण उनी समाजका लागि खतरा हुन सक्ने अभियोजन पक्षको तर्क रहेको छ। उनीहरुको एक वर्षको छोरी छिन्, जसको रेखदेखका लागि ममताको आमा र दाइ अमेरिका गएका छन्।

प्रतिक्रिया

सम्बन्धित