वराहक्षेत्रमा फिरन्ते हात्तीको त्रास : निदाउँदैनन् स्थानीय

सुनसरी । चारकोसे जंगलको उत्तरी गाउँ चतरा पुनरबासमा जङ्गली हात्तीहरूको आतङ्कले स्थानीयहरूलाई सताएको छ। करिब ३० वटा हात्तीहरूको समूह साँझपख गाउँ पसेर अन्नबाली नष्ट गर्नुका साथै घरहरू भत्काउने गरेका छन्। पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईका अनुसार, स्थानीयवासी रातभर टर्चलाइट बोकेर हात्ती धपाउन बाध्य छन्।

वराहक्षेत्र–२, पुनरबासका भट्टराई भन्छन्, "हात्तीले क्षति पुर्याउने डरले हामी रातभर जागा बस्नुपर्ने हुन्छ। हात्ती धपाउनको लागि हाम्रोसँग कुनै साधन छैन र कतैबाट सहयोग पनि मिलेको छैन।" अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई क्षतिपूर्तिका लागि निवेदन दिएका छन्।

भदौ १२ गते राति हात्तीको समूहले पुनरबासका चन्द्रबहादुर मगरको घरमा क्षति पुर्याएको थियो, र सरस्वती प्याकुरेलको घरमा राखेको धान नष्ट गरेको थियो। हिमालयन नेचरका संरक्षणकर्मी विमल तिम्सिनाका अनुसार, आसाम हुँदै झापाको बाहुनडाँगीबाट आहारा र वासस्थान खोज्दै हात्तीहरू आउने गरेका छन्, जसले गर्दा तराईका विभिन्न जिल्लामा हरेक वर्ष ठूलो क्षति पुर्याउँछन्।

स्थानीय क्षेत्रमा ‘सोलार फेन्सिङ’ नहुँदा हात्तीलाई गाउँ पस्न सजिलो भएको छ। नगर प्रहरी र स्थानीयवासीले हात्तीलाई धपाउने प्रयास गरिरहेका छन्, तर समस्या अझै कायम छ।

प्रतिक्रिया

सम्बन्धित