झापामा मिटरब्याजसम्बन्धी ९८ उजुरी

झापा। झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । उनका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको मिति जेठ ११ गतेदेखि साउन ४ गतेसम्ममा उक्त उजुरी परेका हुन् ।

झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ । जसलाई आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्योट गर्ने अधिकार रहेको सहायक प्रजिअ नेपालले बताए । ‘तीस वर्षभन्दा पहिले अनुचित लेनदेन भएकादेखि हालसालै अनुचित लेनदेन भएका उजुरी परेका छन् । २० हजारदेखि ८३ लाखसम्म अनुचित लेनदेन भएको दाबीसहित उजुरी आएका छन्’, उनले भने । छिट्टै संयन्त्रको बैठक बसी छलफका लागि दुवै पक्षलाई बोलाई उजुरी सम्बन्धमा आवश्यक निर्णय गर्ने काम सुरु गरिने सहायक प्रजिअ नेपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित