पलेशाले जितिन् पारालिम्पिकमा ऐतिहासिक काश्य पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिक ऐतिहासिक काश्य पदक जितेकी छन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।  तर, क्वार्टरफाइनलमा पलेशा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध १०-८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन्। जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी काश्य पदकका लागि नजिक पुगेकी थिइन् ।  त्यसपछि उनले काश्य पदकको प्रतिष्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई पराजित गरेर काश्य पदक जितेकी थिइन् ।

पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।
 

प्रतिक्रिया

सम्बन्धित