चोरी शिकारी आरोपमा पूर्व डीआइजी र बहालवाला सईसहित १० पक्राउ

राजविराज । जंगली जनावर चोरी शिकारीको आरोपमा पूर्व डीआइजी र बहालवाला सईसहित १० जना पक्राउ परेका छन् । 

प्रहरीले बुधबार मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानविक्रम शाह र विराटनगर–३ का  नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जर्नादन राउत, इटहरी–२ का प्रदीप लिम्बु, राजविराज–७ का रविन दासलाई समेत पक्राउ परेका छन् ।

यस्तै हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ । प्रहरीले उनीहरुको साथवाट २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए

प्रतिक्रिया

सम्बन्धित