बहिनीलाई डाक्टर बनाउन भीरको बाटोमा बोलेरो हाँकिरहेकी इलामकी १९ वर्षीय छेकी

इलाम । छेकी शेर्पा भर्खर १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता ‘बाँदर लड्ने’ भीर’ को बाटोमा निरन्तर बोलेरो जीपमा यात्रु बोक्ने काम गर्दै आएकी छन् ।

त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको संख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एक मात्र किशोरी हुन् ।

पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन् । बोलेरो डबल क्यापको जीपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन् । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् ।

उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्छन् । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उनी बताउँछन् । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले विस्तारै राम्रोसँग चलाउन थालिन् । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए ।

‘मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु’, उनले भनिन् । छेकीले गाडी चलाउँदा केही यात्रुहरूले सुरुमा विश्वास गर्दैनथे । उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरूले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।

उनले बर्खायाममा पनि खर्च कटाएर मासिक ३० हजारभन्दा बढी कमाउने गर्छिन् । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरू बताउँछन् ।

कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छन् । ‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ’, उनले भनिन् । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेशिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएको छेकीले बताइन् ।

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले  उनको गाडी रोज्ने गरेको बताउँछन् । ‘केही पुरुष चालकहरूले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ’, स्थानीय यात्रु दावा शेर्पाले भने, ‘तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।’ 

प्रतिक्रिया

सम्बन्धित