यी शर्तहरू पालना हुनासाथ नेपालमा खुल्नेछ टिकटक

काठमाडौं । नेपालमा झण्डै १० महिनापछि टिकटक खुल्ने पक्का भएको छ । सरकारले आज (बिहीबार) टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर पनि मोबाइलमा टिकटक खुल्न अझै केही समय लाग्ने जनाइएको छ । 

आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले सर्ट भिडियो शेयरिङ एप्स टिकटकमाथिको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेको हो । तर, सो निर्णय कार्यान्वयनमा भने तत्कालन आउने छैन । सरकारले राखेको शर्त पूरा गरेपछि मात्र प्रतिबन्ध हटेको निर्णय कार्यान्वयन हुने । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनका अनुसार ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ अनुसार टिकटकले शर्तहरू पूरा गर्नुपर्नेछ । जसमा यो एप्स सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्छ । यति मात्र होइन, प्वाइन्ट अफ कन्ट्र्याक्ट पनि तोक्नुपर्छ । सरकारले राखेको अर्को शर्त फिल्टिरिङ पनि हो । ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो कुनै पनि परिस्थिति नआउने गरी फिल्टिरिङ हुनुपर्छ’, उनले भने । तत्कालीन प्रचण्ड सरकारले टिकटकबाट सामाजिक मर्यादा उल्लंघन भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

अब सरकारले यस्तो नहुने अवस्थाको सुरक्षा टिकटक कम्पनीबाट खोजेको छ । सरकारले सुरक्षाको विषय पनि शर्तमा राखेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने, डिजिटल साक्षरताका लागि सहयोग गर्नुपर्ने लगायतका शर्तहरू छन् । टिकटक कम्पनीले नेपाल सरकारका यी शर्तहरूमा सहमति जनाई सम्झौता गरेपछि टिकटकमाथि प्रतिबन्ध हटेको विषय कार्यान्वयनमा जानेछ । यसपछि मात्र मोबाइलमा टिकटक चल्न थाल्ने छ ।  

प्रतिक्रिया

सम्बन्धित