नालीमा डुबेको भैंसी बचाउन जाँदा गयो चार दाजुभाइको ज्यान

एजेन्सी । नालीमा डुबेर भारतको राजस्थानस्थित टोंक जिल्लामा चार दाजुभाइको ज्यान गएको छ । नालीमा फसेको भैँसीलाई जोगाउन खोज्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चारै दाजुभाइ १० कक्षामा पढ्थे र पौडी जान्दैनथे । 

आज तकको रिपोर्ट अनुसार घटना टोंकको खुर्द गाउँमा भएको हो । जहाँ चार दाजुभाइले नाला नजिक भैंसी लिएर गएका थिए । चारै जनाको लुगा र चप्पल सडकको छेउमा फेला परेपछि गाउँलेलाई घटना थाहा भएको थियो । घटनाको जानकारी पाउनासाथ परिवारका सदस्य र ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुगेका मानिसहरूले भैंसीलाई बचाउन चार दाजुभाइमध्ये एक जना पानीमा पसेको हुनसक्ने अनुमान गरेका छन् । उनलाई डुबेको देखेर अरु दाजुभाइ पनि पानीमा हाम फालेको हुनसक्ने उनीहरूको अनुमान छ । 
तर, पानीको गहिराइका कारण कोही पनि बाहिर निस्कन नसकेर एक एक गरी सबै डुबेको समाचारमा उल्लेख छ । डुबेर मृत्यु हुने चार दाजुभाइमध्ये हंसराज र दिलखुश शेओराज नाम गरेका व्यक्तिका छोरा थिए । विजय र विकास राधाकिशन बैरवाका छोरा थिए । पीडित परिवारका आश्रितलाई सरकारी जागिर दिन परिवारका सदस्यले माग गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित