सुमनाको प्रश्न– दशकौंदेखि विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अनि जनता गुहार्ने?

काठमाडाैं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा मौलाइरहेको राजनीतिकरणले विश्वविद्यालयका पदाधिकारीहरू असुरक्षित हुनुपरेको भन्दै असन्तुष्टि जनाएकी छन्।श्रेष्ठले सामाजिक सञ्जालमा लामो पोष्ट लेख्दै प्रश्न गरेकी छन्। 

शिक्षा मन्त्री विद्या भट्राईले सामाजिक सञ्जाल मार्फत गृह मन्त्रीसँग त्रिवि पदाधिकारीको सुरक्षाको माग गरेकी थिइन्। मन्त्रीले सामाजिक सञ्जालमा लेखेको पोस्टमा विभिन्न टीकाटिप्पणी भएपछि उनले सार्वजनिक अपिल गर्नुपर्ने भएकैले यो विषय लेखेको बताएकी थिइन्।

मन्त्रीले सामाजिक सञ्जालमार्फत त्रिवि पदाधिकारीको सुरक्षाको माग गरेपछि सुमनाले सामाजिक सञ्जालबाटै असन्तुष्टि जनाउँदै पोस्ट गरेकी हुन्।

सुमनाले लेखेकी छन्, ‘त्रिविमा पनि दुई तिहाई सरकार छ– एउटा विद्यार्थी संघ र अर्को प्राध्यापक संघ। अनि सबै संघले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठूला दलका आशीर्वाद। त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो – सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन!’ 

उनले अघि प्रश्न गरेकी छन्, ‘दुई तिहाईको सरकारले के दियो? स्थायीत्व कता गयो? गुण्डाहरूको मनोबल किन बढेको? विधिको शासन कता गयो? कसको आडमा? कसको प्रशयमा? अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग– बहस चलोस् भनेर रे! शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्थासहित उच्च मनोवलका साथ पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफँै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’

यस विषयमा छलफल गर्न आफूले शिक्षा समितिका सभापतिलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेको जानकारी गराउँदै पूर्व शिक्षा मन्त्री सुमना भन्छिन्, ‘वास्तवमा, काम गर्यो भने सकिन्छ। उदाहरण थुप्रै छन्। अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो? यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु। दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस्। देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो?’ 

प्रतिक्रिया

सम्बन्धित