प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध ओली सरकारले हटाउँदै

इटहरी । सरकारले ‘टिकटक’ माथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई १० महिनाअघि लगाएको टिकटकमाथिको प्रतिबन्ध केपी शर्मा ओली नेतृत्वको सरकारले हटाउने गृहकार्य अगाडि बढाएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री ओलीले चासो र निर्देशनमा टिकटकमाथिको प्रतिबन्ध हटाउनका लागि प्रक्रिया अगाडि बढाइएको स्रोत बताउँछ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग प्रतिबन्ध हटाउने विषयमा छलफल थालेका छन् । सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेपछि त्यसबारे आवश्यक कारबाही अघि बढ्ने जनाइएको छ ।  सञ्चार मन्त्रालय स्रोतले पनि टिकटक प्रतिबन्ध हटाउने विषयमा छलफल भइरहेको जानकारी दिएको छ । 

नेपालमा टिकटक मनोरञ्जनको एक माध्यमका रुपमा लोकप्रिय बनेको थियो । तर,  सजिलै खोल्न सक्ने सामाजिक सञ्जाल टिकटकको लोकप्रियतासँगै यसको प्रयोगले विकृति बढाएको भन्दै आलोचना समेत बढ्न थाल्यो । टिकटकमा हालिएका कतिपय भिडियोले समाजमा नकारात्मक असर पुर्‍याएको भन्दै प्रचण्ड नेतृत्वको सरकारले २०८०  कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गर्ने निर्णय गरेको थियो ।

२०८० माघदेखि टिकटकले उच्च तहका अधिकारीलाई नेपाल भ्रमणमा पठाएरै प्रतिबन्ध खुलाउन प्रयास गरेको थियो । टिकटक प्रतिनिधिले राजनीतिक भेटवार्ता गर्दै निरन्तर ताकिता गरे । सञ्चारमन्त्री रेखा शर्मासँग पटक–पटक भेट गरे । सरकारले प्रतिबन्ध हटाएन । सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा १४ वटा दायर भए ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त रिटमा सरकारसँग प्रतिबन्ध लगाउनुको कारण माग गरिएको भए पनि त्यसपछि सुनुवाइ नै भएको छैन । 

प्रतिक्रिया

सम्बन्धित