मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत

झापा । वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान पुगेकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कुवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा रहेकि छिन ।

राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उनी डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताए ।

“आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भने “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उनले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल समेत गरेका छन ।

विपन्न परिवारकी विनादेवी कवर २०७५ सालमा भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान पुगेकी थिइन ।  दुई वर्षअघि मधुमेह र उच्च रक्तचापका कारण पक्षाघातले थलिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म उनी अचेत अवस्थामै रहेकाे ओमानस्थित नेपाली दूताबासका कर्मचारीहरूले जानकारी दिएका छन् ।

ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिए । रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भने “दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उनले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाए । 

बिनादेवीलाई स्वदेश ल्याउनका लागि नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का सांसद् विश्वप्रकाश शर्माले पहल गर्ने प्रतिबद्धता जनाएका छन  । महामन्त्री शर्माले बिनादेवीको मेचीनगरस्थित घर पुगेर परिवारका सदस्यलाई भेट गरेका छन।

महामन्त्री शर्माले ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग फोनमा कुराकानी गरेर बिनादेवीलाई स्वदेश ल्याउन आवश्यक पहल गर्न आग्रह गरेका छन । शर्माले बिनादेवीका छोरा सञ्जयलाई ओमान पठाउने र आमाको अवस्था हेरेर स्वदेश ल्याउने उपायका विषयमा पहल भइरहेको बताए ।

बिनादेवीका छोरा सञ्जयलाई ओमान जाने, आउने र बस्ने खर्चको व्यवस्थापन गरिने महामन्त्री शर्माले बताए । बिनादेवीका दुई छोरा, एक छोरी र पति छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज चिया बगानमा मजदुरी गर्दै आइरहेका छन भने  कान्छा छोरा सुरज काठमाडौँमा मजदुरी गर्छन । छोरी अनिता कवरको विवाह भइसकेको छ । बिनादेवीका पति चिनीलालसमेत ज्याला मजदुरी गर्छन ।

प्रतिक्रिया

सम्बन्धित