अस्ट्रेलियामा २१ दिनदेखि हराइरहेका नेपालका सुभाषको शव समुद्री तटमा भेटियो

काठमाडौं । पढाइका लागि नौं महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रे पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन् । विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले जानकारी दिए । 

शनिबार बिहान १२ बजेतिर शव भेटिएको खबर नगरपालिकामा आएको उनले बताए । ‘हिजो (शनिबार) बिहान उनको शव समुद्रको तटमा भेटिएको त्यहाँस्थित प्रहरीले हामीलाई जानकारी पठाएको छ,’ तामाङले सुनाए । 
उनका अनुसार, आज (आइतबार) बाटै सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ । अध्ययनका लागि अस्ट्रेलिया गएका सुभाष परिवारका कान्छा छोरा हुन् । उनी सुरुमा साथीहरूसँग बस्थे । 

परिवारले दिएको जानकारी अनुसार, पछिल्लो दुई महिनादेखि सुभाष एक्लै बस्दै आएका थिए । उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको र आवश्यक अनुसन्धान भइरहेको तामाङले बताए । उच्च शिक्षा अध्ययनका लागि गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलसहित परिवारका सदस्यले नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कसँग भेटेर खोजी गरिदिन आग्रह गरेका थिए । सिड्नीस्थित प्रहरीले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित