थामे बाढी : उद्धार र राहतका लागि गाउँपालिकाले गुहार्‍यो सरकार

दूधकोशी आसपास अझै पनि उच्च सतर्कता अपनाउन आग्रह

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । 

‘दूधकोशीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ’, जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, ‘दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।’ बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

बाढीले खोटाङ र ओखलढुङ्गाको कोशी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन् । दूधकोशीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

सोलुखुम्बुमा आएको बाढी खोटाङ आसपासमा आइपुग्न केही घण्टा लाग्ने अनुमान छ । थामेखोलाको बाढी थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झरेपछि जिल्ला विपद् व्यवस्थापन समिति खोटाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोली सम्भावित बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् । 

सोलुखुम्बुमा हिम ताल फुटेर वा हिमपहिराको कारणले बाढी आएको भन्ने यकिन भएको छैन । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे वस्तीमा आएको लेदोसहितको बाढीले १४ वटा घर बगाएको गाउँपालिकाले जनाएको छ । शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले ‘उक्त वस्तीमा अचानक आएको बाढीबाट हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घरसहित १४ वटा भवनहरु पूर्ण रुपमा बगेका छन् भने अन्य घरमा समेत बाढी पसी धनमालको व्यापक क्षति भएको’ बताएको छ ।

बाढीको बहाव क्षेत्रका अन्य भौतिक संरचनाहरूमा समेत व्यापक क्षति पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीयको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै खराब मौसमका कारण गाउँपालिकाका सबै जनप्रतिनिधी एवं कर्मचारी यथासमयमा उक्त बस्तीमा पुग्न नसकिएको र भोलि बिहानैदेखि उद्वार तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी खटिने बताएका छन् । गाउँपालिकाले सो स्थानमा गर्नुपर्ने थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थाबाट थप सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित