कान्ताराका लागि ऋषभ शेट्टीले पाए उत्कृष्ट अभिनेताको नेशनल अवार्ड

काठमाडौँ । भारत सरकारले सन् २०२२ का लागि ७०औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको छ । ७०औं राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड दुई अभिनेत्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । नित्या मेननलाई तमिल फिल्म तिरुचित्रम्बलमका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । यो फिल्म सन् २०२२ मा रिलिज भएको थियो । यस फिल्ममा उनीसँगै अभिनेता धनुष देखिएका थिए ।

मानसी पारेखलाई गुजराती फिल्म काक्ष एक्सप्रेसका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि दिइएको छ । कन्नड अभिनेता ऋषभ शेट्टीलाई उनको फिल्म कान्ताराका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । कार्तिकेय–२ फिल्मले वर्षको उत्कृष्ट तेलुगु फिल्मको अवार्ड पाएको छ । पोन्नियिन सेल्भान पार्ट-१ ले वर्षको उत्कृष्ट तमिल फिल्मको अवार्ड पाएको छ ।

केजीएफ च्याप्टर-२ ले वर्षको उत्कृष्ट कन्नड फिल्मको अवार्ड पाएको छ । मनोज बाजपेयी र शर्मिला टगरको फिल्म गुलमोहरले वर्षको उत्कृष्ट हिन्दी फिल्मको अवार्ड पाएको छ । चलचित्र ब्रह्मास्त्र भाग १ का गीतका लागि संगीतकार प्रीतमले उत्कृष्ट संगीत निर्देशक (गीतका लागि) अवार्ड पाएका छन् । एआर रहमानलाई तमिल फिल्म पोन्नियिन सेल्भान पार्ट–१ को पृष्ठभूमि संगीतका लागि उत्कृष्ट संगीत निर्देशकको अवार्ड दिइएको छ ।

फिल्म ब्रह्मास्त्र पार्ट १ मा गाएको केसरिया गीतका लागि अरिजित सिंहले सर्वोत्कृष्ट पुरुष गायकको अवार्ड पाएका छन् । निर्देशक सुरज बडजात्याले फिल्म उचाईका लागि उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । मलयालम फिल्म अत्तमले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित