साेलुखुम्बु थामे बाढी :एक जना बेपत्ता , सात जनाको उद्धार

भोलि विज्ञसहितको टोली जाँदै, क्षतिको विवरण थपिँदै

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएको आशंका छ । दिउँसो अचानक आएको बाढीले १६ वटा घर बगाएको छ । त्यस्तै, एउटा विद्यालय, एउटा क्लिनिक र एउटा होटल पूर्ण रुपमा क्षति भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन् । 

उनका अनुसार क्षतिको पूर्ण विवरण आइसकेको छैन । उनले भनिन्, ‘पानी परिरहेको र हिँडेर जानुपर्ने भएकाले उद्धार टोली पनि केहीबेर अघि मात्रै पुग्यो । सात जना मान्छेसहित पशुपंक्षीको उद्धार गरिएको छ । एक जना बाढीमै बेपत्ता भएको आशंका छ, कन्फर्म गर्दैछौँ ।’ प्रजिअ पाण्डेले बिजुली र नेटवर्कको समस्या हुँदा घटनास्थलको यथास्थितिबारे जानकारी लिन कठिन भइरहेको पनि बताइन् । हिमपहिरोले ताल बगाएको आशंका छ ।

हेलिकोप्टर व्यवस्थापन गरिए पनि खराब मौसमको कारण धेरै उडान गर्न नसकिएको बताइन्छ । ‘ताल र हिमाल बाढी आएको बस्तीभन्दा धेरै माथि छ । दूरी अनुमान लगाउन समेत सकिँदैन । बाढीको कारण थाहा पाउन हामीले हेलीको पनि म्यानेज गरेका छौं, तर मौसमको कारण उडाउन नै सम्भव छैन’, उनले थपिन् । 

प्रजिअ पाण्डेले बाढी दिउँसो आएको कारण मानवीय क्षति हुनबाट जोगिएको बताइन् । राति बाढी आएको भए मानवीय क्षतिको सम्भावना कल्पनाभन्दा बाहिर हुने थियो । सेना र प्रहरीको एउटा टोली घटनास्थल पुगेर उद्धारमा संलग्न भएको छ । उनीहरुले स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् । यसैबीच थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो ।

टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसी बताउँछन् । उनका अनुसार, शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जाने तयारी छ ।  रक्षा मन्त्रालय स्रोतका अनुसार, सम्भवतः रक्षामन्त्री मानवीर राई समेत त्यसतर्फ जानेछन् । बाढी आएको स्थानतर्फ जाने विज्ञसहितको टोलीले भने बाढीको स्रोत पत्ता लगाउने प्रयास गर्ने प्राधिकरण स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित