विराजको ‘१२ गाउँ’ पनि फूलपातीमै, प्रतिस्पर्धामा तीन फिल्म

इटहरी । अभिनेता विराट भट्टका छोरा समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीका दिन प्रदर्शनमा आउने भएको छ । विराजले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । एक्सन जनरामा बनेको यो फिल्ममा विराजकै निर्देशनमा तयार भएको हो । यसमा उनी नायकको भूमिकामा पनि छन् । उनले खबरहबसँग भनेका भने, ‘दर्शकले हामी बुवा–छोराकै एक्सन देख्न पाउनुहुन्छ ।’

यससँगै विराजको फिल्मले हलमा दीपक–दीपको ‘छक्का पञ्जा–५’, जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहने ‘ज्वाइँ साब’सँग हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।यस फिल्ममा विराट र समीरसहित न्यान्सी खड्का र सनिशा भट्टराईको मुख्य भूमिका रहेको छ ।

दसैंमा दुई–तीन फिल्म लाग्नु सामान्य विषय रहेको विराजको बुझाइ छ । अन्य सामान्य दिनमा समेत फिल्महरुले हलमा प्रतिस्पर्धा गर्दा दसैंमा तीन फिल्म लाग्नु ठूलो विषय नरहेको उनको तर्क छ ।उनी भन्छन्, ‘कसैसँग फिल्म हामीले जुधाएको हैन । लामो बिदामा दर्शकमाझ फरक स्वाद फिल्म लिएर जाने मेरो चाहाना हो । फिल्म त अन्य दिनमा पनि एकसाथ प्रदर्शन भएका छन् नि ।’

आफ्ना पूराना दर्शकलाई भेट्न उपयुक्त अवसर छोड्न नचाहेको उनको अर्को तर्क छ । भन्छन्, ‘मेरो फिल्म किशोर अवस्थमा हेर्ने दर्शकहरु अहिले ठूलो भइसक्नुभयो । विदेश भए पनि दसैंमा नेपाल आउनुहुन्छ । उहाँहरु परिवारसँग मेरो फिल्म हेर्न आउनुहुन्छ ।’

त्यस्तै, समीरको अर्को फिल्म ‘बलिदान’को छायांकन र प्रदर्शनकाे समय तालिकालाई मध्यनजर गरेर प्रदर्शन मिति तय गरेको उनको तर्क छ ।

‘बलिदानको छायांकन हुन्छ । त्यहाँ पनि समीरले समय दिनुपर्ने हुन्छ । अहिलेपछि गर्दा बलिदानसँग यो फिल्म सँगै जस्तो प्रदर्शन हुने भयो,’ उनी भन्छन्, ‘दसैपछि प्रदर्शन गर्दा समीरको तालिका नमिल्ला जस्तो पनि भयो ।’

 

१२ गाउँ फिल्म निर्माण घोषणासँगै समीर चर्चामा छन् । दर्शकले उनको केही तस्बिर मात्रै देखेका छन् । उनको अन्तर्वार्ता र भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् ।

विराजको छोरा भएका कारण उनले स्वभाविक रुपमा चर्चा पाएका हुन् । त्यसका साथै उनको सुगठित शरीर पनि चर्चाको अर्को कारण हो ।

विराजकाअनुसार यो फिल्मको स्क्रिप्टमा कोरोनाकालको लकडाउन ताका नै भएको हाे। समीरलाई पनि त्यही समयदेखि एक्सन र फिल्मका लागि चाहिने प्राविधिक विषयमा तालिम दिएको उनको भनाइ छ ।

‘समीरको एक्सन टिजर आएपछि नै थाहा हुन्छ । बाँकी मिहिनेत फिल्ममा देखिन्छ,’ उनी भन्छन्, ‘एक्सन फिल्मका बारेमा मैले धेरै कुरा रिसर्च गरेर बनाएको छु । त्यसमा समीरको महिनेत दर्शकले आफैँ देख्नुहुन्छ ।’

समीर यही फिल्मका लागि नेपाल आएका हुन् । उनी पढाइका लागि मुम्बईमा बस्दै आएका थिए । विराजले पनि छोरालाई आफ्नै फिल्मबाट डेब्यू गराउने इच्छा राखेका थिए । सोहीअनुरुप उनी १२ गाउँमा नायकका रुपमा तय भएका हुन् ।

विराजका अनुसार समीर मार्सल आट्र्समा ब्ल्याक बेल्ट लिएका खेलाडी हुन् । उनी भारतमै थिएटरमा पनि काम गर्दै आएका छन् । नमित कपुरको अभिनय इन्स्टिच्युटमा समेत उनले अध्ययन गरेका छन् ।

फिल्मका लागि उनले नृत्य र जिम्न्यास्टिकको समेत तालिम लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित