हसिना र उनका शीर्ष सहयोगीहरूमाथि हत्या आरोपमा अनुसन्धान हुने

काठमाडौं । गत महिना बंगलादेशमा भएको हिंसात्मक आन्दोलनमा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान हुने भएको छ ।

निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले भने, ‘शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।’ उनका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।

अदालतमा मियाले दायर गरेको मुद्दामा हसिनाका पूर्वगृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ । यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ । 

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेबारी सात जनालाई लगाइएको छ । जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो । डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो ।

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् र अहिले भारतमै रहेकी छन् ।  उनको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए । उनको पतनसम्म ४५० भन्दा बढी मानिस मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित