बंगलादेशका राजनीतिक दलले सरकार प्रमुख युनुसलाइ भने, 'निर्वाचनकाे बातावरण बनाउनुहाेस्'

ढाका । बंगलादेशका राजनीतिक दलले अविलम्ब निर्वाचनकाे बातावरण बनाउन सरकार प्रमुख माेहम्मद युनससँग अाग्रह गरेका छन् । राजधानीको स्टेट गेस्ट हाउस जमुनामा मुख्य सल्लाहकार र बिएनपीका  वरिष्ठ नेताहरुबीच भएको भेटमा साे अनुराेध गरिएकाे हाे ।

बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको बताएका छन् ।  उनले भने, ‘हामीले यो अन्तरिम सरकारलाई निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएका छौं । मिर्जा फखरुलले वर्तमान अन्तरिम सरकारका सबै काम कारवाहीमा आफ्नो पार्टीले पूर्ण सहयोग गरिरहेको बताए ।

बैठकमा बिएनपीका स्थायी समिति सदस्य खन्दकर मोसर्रेफ हुसेन, मिर्जा अब्बास, डा अब्दुल मोइन खान, नजरुल इस्लाम खान, सलाहुद्दीन अहमद, अमिर खसरु महमुद चौधरी, सेलिमा रहमान र जमिरुद्दीन सिरकार पनि सहभागी थिए ।

विद्यार्थी नेतृत्वको जनआन्दोलनको सामना गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । अगस्त ८ मा  सरकार गठन भएयता अन्तरिम सरकार प्रमुख र बिएनपी नेताहरुबीचको यो पहिलो औपचारिक भेट हो ।

तर उनीहरुले यसअघि नै निर्वाचनको उचित वातावरण बनाउन समय लाग्ने बताएका थिए । ‘हामीले समय दिएका छौं,’ उनले भने, ‘आगामी पुस्ताको निर्वाचनको व्यवस्था गर्न बिएनपीले कुनै निश्चित समयावधि तोकेको छैन ।'

प्रतिक्रिया

सम्बन्धित