अन्ततः दलको अगाडी झुके हर्क साम्पाङ : खानेपानीमा बढाएको शुल्क फिर्ता

इटहरी । सुनसरीको धरान स्थित खानेपानी बोर्डले उपभोक्ताहरूको ढाड सेक्ने गरी बढाएको महसुल फिर्ताको माग गर्दै आन्दोलनमा होमिएका १० राजनीतिक दल र धरान उपमहानगरबिचको वार्ता सफल भएको छ ।

आइतबार साँझ अबेर सम्म चलेको वार्ताले खानेपानीमा बढाइएकाे महसुल फिर्ता लिने सहमति सँगै दलहरूले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले साउनको १ गते देखि लागु हुने गरी पानीको महसुल बढाएको थियो ।

महसुल बढे लगत्तै धरान अशान्त बनेको थियो । १० राजनीतिक दलले दैनिक आन्दोलन चर्काएपछि हार मानेका धरान उपमहानगरका मेयर हर्कराज राई(साम्पाङ)ले आइतबार अान्दाेलनरत पक्षलाई वार्तामा बोलाएका थिए ।

वार्तामा दलहरूले खानेपानी महसुल नघटाए सम्म आन्दोलन नरोकिने अडान लिएपछि मेयर साम्पाङले बढाएको शुल्क फिर्ता लिएका थिए । वार्तामा महसुल फिर्ताको सहमति सँगै १० दलले पनि आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको र धराने जनताको जित भएको उद्घाेष गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित