पेरिस ओलम्पिक : म्याराथनमा आज नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

एजेन्सी । नेपाली म्याराथन धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक–२०२४ मा आज (आइतबार) महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यस ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।

सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । १० दिनअघि पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल नै अभ्यास समेत गरेकी थिइन् । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताएकी छन् ।

सन्तोषीले आफूले गरेको अभ्यास अनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताइन् । उनले पहिलो लक्ष्य म्याराथन पूरा गर्ने र त्यसपछि कीर्तिमानमा केन्द्रित हुने बताइन् । सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेर गोल्डेन गर्लको रुपमा उदाएकी सन्तोषीले ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन् । उनले मध्यम दूरीबाट दौड सुरु गर्दै हाफ म्याराथन अनि म्याराथन दौडन थालेकी हुन् ।

बंगलादेशको ढाकामा भएको बंगबन्धु म्याराथनमा कीर्तिमानी स्वर्ण जितेपछि सन्तोषीले ओलम्पिकमा हसभागी हुने अवसर पाएकी हुन् । उनले अन्तर्राष्ट्रिय डेब्यु म्याराथनमै २ घण्टा ४६ मिनेट २३ सेकेन्डको कीर्तिमानी सममयमा स्वर्ण जितेकी थिइन् । पेरिस ओलम्पिकमा नेपालमा यसअघि ६ खेलाडीले आफ्नो प्रतिस्पर्धा सकाएर फर्किसकेका छन् । पौडीका अलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेह अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।

शाहसहित पौडीकै डुवाना लामा, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका थिए ।  ओलम्पिकको अन्तिम दिन आज २३ पदकको टुङ्गो लाग्नेछ । पदक तालिकामा अहिलेसम्म ३९ स्वर्ण, २७ रजत र २४ कास्य पदकसहित कुल ९० पदक जितेको चीन शीर्ष स्थानमा छ । ३८ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकसहित कुल १ सय २२ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ । १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जितेको अष्टे«लिया तेस्रो स्थानमा छ । 

प्रतिक्रिया

सम्बन्धित