इटहरीमा किवानिस क्लब नेपालको छैठौं राष्ट्रिय सम्मेलन हुने

इटहरी।इटहरीमा पहिलाे पटक किवानिस क्लब नेपालको छैठौं राष्ट्रिय सम्मेलन  आयोजना हुने भएकाे छ । साउन २५ र २६ गते सोल्टी वेस्टेन्ड होटलमा हुने सम्मेलनको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ।

किवानिस क्लब एक विश्वव्यापी स्वयंसेवी संस्था हो, जसले बालबालिकाको जीवनमा सुधार ल्याउने उद्देश्यले काम गर्दछ। यस क्लबले स्वास्थ्य, शिक्षा, पोषण, साक्षरता, खेलकुद, वातावरण, र नेतृत्व विकास जस्ता पाँच मुख्य विषयमा कल्याणकारी र परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। सम्मेलनमा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ, जसमा भाइस गभर्नरको चयन पनि हुने जनाइएकाे छ । 

किवानिस क्लब अफ इटहरीकी अध्यक्ष मनिता तामाङले सम्मेलनको तयारी पूरा भएको   र सहभागीहरूको उचित व्यवस्थापन सुनिश्चित गरिएको जानकारी दिइन । सम्मेलनमा स्थानीय उत्पादनको स्टलहरू राखेर पूर्वका वस्तुहरूको प्रदर्शन गरिनेछ, जसले स्थानीय उत्पादनको प्रवर्धनमा सहयोग पुर्याउने उनले बताइन । 

नेपालमा १३८ वटा किवानिस क्लबहरू छन्, जसमा २३०० भन्दा बढी सदस्यहरू छन्। इटहरीमा पनि किवानिस क्लबले बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइयाे । सम्मेलनमा ताइवान, फिलिपिन्स, र भारतका प्रतिनिधिहरूको सहभागिता रहने  जसले स्थानीय पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने विश्वास गरिएको जनाइएकाे छ । 

कार्यक्रमकाे पहिलाे दिन शुक्रबार बिहान इटहरीदेखि बेलबारीसम्म मोटरसाइकल र्‍याली गरिने पनि जनाएकाे छ । सम्मेलनमा नौमती बाजासहित अतिथिहरूलाई स्वागत गरिने छ भने कार्यक्रमकाे समुदघाटन काेशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गर्ने पत्रकार सम्मेलनमा जनाइएकाे छ । 

पत्रकार सम्मेलनमा किवानिस जिल्ला सचिव युवराज न्यौपाने र जिल्ला कोषाध्यक्ष शिवबहादुर काफ्ले लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।यस सम्मेलनले किवानिस क्लबको स्थानीय र अन्तर्राष्ट्रिय प्रभावलाई सुदृढ पार्ने र स्थानीय कल्याणकारी कार्यहरूलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित