काेशी सहित यी चार प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

इटहरी ।अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । अहिले (बिहीबार) बिहान कोशी, मधेस र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको जनाइएको छ ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

राति देशभर  साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा अद्यावधिक छ । 

गए राति सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको बाँसखर्कमा ७५ दशमलव ८ मिलिमिटर, ढुङ्गेमा ७१, मिलिमिटर, बोल्डेमा ६७ मिलिमिटर र तार्केघ्याङमा ६६ मिलिमिटर पानी परेको छ ।

सिन्धुपाल्चोकको  ढुङ्गे, बोल्डे, मेलम्चीघ्याङ, तार्केघ्याङ र आसपासमा ठूलो पानी परेकाले मेलम्ची, ईन्द्रावती र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको  र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गए राति देशका अरु धेरै ठाउँमा पनि पानी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित