चन्द्रमाको एक भाग पासाङ ल्हामू शेर्पाको नामबाट नामकरण

एजेन्सी । चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङ ल्हामु शेर्पाको नामबाट नामकरण भएको छ।अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) को ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामू’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ।

सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘यूएस  जिओलोजिकल सर्भे (यूएसजीएस) ले ‘ल्हामू क्रेटर’ नामकरण गरेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

सामाजिक सञ्जाल एक्समार्फत दूतावासले भनेको छ, ‘पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ।’

दूतावासले ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ’ भनेको छ।

प्रतिक्रिया

सम्बन्धित