अल्भारेजले छोडे म्यानचेस्टर सिटी, एटलेटिको जादै

काठमाडौँ  / अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले म्यानचेस्टर सिटी छोड्ने भएका छन् ।

अल्भारेज ला लिगा क्लब एटलेटिको म्याड्रिड जाने निश्चित भएको हो । एटलेटिकोले अल्भारेजका लागि कीर्तिमानी ९५ मिलियन युरो तिर्न सहमत भएको मिडिया रिपोर्टमा बताइएको छ ।

म्यानचेस्टर सिटीले अल्भारेजलाई स्पेनमा मेडिकल गर्न अनुमति दिएको र छिट्टै सम्झौता हुने भएको छ ।

नियमित खेल्न नपाएका अल्भारेज सिटीमा असन्तुष्ट रहेका थिए । अर्जेन्टिनालाई विश्वकप, कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेलेका अल्भारेजले सिटीमा पर्याप्त खेल समय नपाउने निश्चित भएपछि क्लब छोड्ने निर्णय गरेका हुन् ।

२४ बर्षिय अल्भारेज २०२२ मा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट सिटी आएका थिए । उनले सिटीमा दुई सिजनमा १०३ खेल खेल्दै ३६ गोल गरेका थिए । सिटीमा उनले धेरै जसो खेलमा सब्सटिच्यूटको रुपमा खेलेका थिए ।

सिटीमा उनले दुवै सिजनमा प्रिमियर लिगको उपाधि जितेका थिए भने २०२२-२३ मा एफए कप, च्याम्पियन्स लिग, युइएफ़्ए सुपर कप र २०२३ मा फिफा क्लब विश्वकप समेत जितेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित