‘बंगलादेशमा सेनाको सरकार अस्वीकार्य’ : नोबल विजेता युनुस नेतृत्व सम्हाल्न तयार

एजेन्सी । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व सम्हाल्न तयार भएका छन् । युनुस हाल पेरिसमा रहेको रोयटर्सले जनाएको छ । बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमानले आज (मंगलबार) आन्दोलनरत विद्यार्थीका नेताहरूसँग छलफलको तयारी गरेका छन् । 

सोमबार साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए । जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ । १५ वर्षसम्म सत्ताको बागडोर सम्हालेकी हसिनाले राजीनामा दिएसँगै हिंसात्मक प्रदर्शनहरू रोकिएका छन् । मंगलबारदेखि नै ढाकाका विद्यालयहरू खुलेका छन् । तर विद्यार्थीको संख्या शून्य रहेको विभिन्न समाचार माध्यमले जनाएका छन् ।

त्यहाँका गार्मेन्ट उद्योगहरू पनि बन्द नै छन् । कहिलेदेखि सञ्चालनमा ल्याउने भन्नेबारे मंगलबार निर्णय गर्ने तयारी छ । आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले मंगलबार फेसबुकमार्फत एक भिडिओ सार्वजनिक गरेका छन् । उनीहरूले सेना नेतृत्वको सरकार नस्वीकार्ने बताएका छन् ।

उनीहरूले अन्तरिम सरकार बनाउँदा बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई सहभागी गराउन माग गरेको बीबिसीले उल्लेख गरेको छ । ‘हामीले सिफारिस गरेको बाहेक अन्य कुनै पनि सरकार स्वीकार्य छैन,’ विद्यार्थी आन्दोलनको नेतृत्व गरेका नहिद इस्लामले भने, ‘सेनाको समर्थन रहेको वा सेना नेतृत्वको सरकार हामी स्वीकार गर्दैनौं । हामीले मोहम्मद युनुससँग पनि कुराकानी गरेका थियौं र उनले हाम्रो अनुरोध स्वीकार्दै जिम्मेवारी लिन सहमत भएका छन् ।’

८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो । लाखौं जनतालाई १०० डलर भन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो । गत जुनमा उनीविरूद्ध रकम हिनामिनाको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो । तर उनले उक्त आरोप अस्वीकार गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित