को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?

काठमाडौँ  / बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीनवटा महत्वपूर्ण पात्र रहेका छन् । जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका छन् ।

नाहिद इस्लाम:  इस्लाम अहिले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको सबैभन्दा ठूलो चेहेरा हुन् । उनले आइतबार भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ । प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् । अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने या पदमा रहन रक्तपातको सहारा लिने।'

इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन् । उनले प्रहरीलाई जुलाई २० मा पक्राउ गरेको आरोप छ । तर, प्रहरीले यसलाई अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा युनिफर्म लगाएका केही व्यक्तिले इस्लामलाई कारमा बसाउन लगाएका थिए । इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला परेका थिए । बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनले दाबी गरे । २६ जुलाईमा डिटेक्टिभ ब्रान्चले इस्लामलाई उपचारको क्रममा अस्पतालबाट फेरि उठायो । यस पटक, डिटेक्टिव ब्रान्चले सुरक्षाको कारणले इस्लाम र उनका सहयोगीलाई हिरासतमा राख्न आग्रह गरेको थियो । फेरि हिरासतमा पर्नुआ अघि इस्लामले जुलाई २० मा बिहान २ बजे करिब २५ देखि ३० जनाले आफूलाई जानकारी नदिई जबरजस्ती लगेका थिए । पुलिसको कुटाइबाट घाइते इस्लामको अनुहारले प्रदर्शनकारीलाई थप आक्रोशित बनाएको थियो । त्यसपछि उनीहरु झनै हिंसात्मक बने र सडकमा उत्रिए । इस्लामले सरकारले हिंसा जारी राखे संसद कब्जा गर्ने बताएका थिए । 

आसिफ महमूदः  महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी हुन् । उनी जूनमा सुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको हिस्सा बने । महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए । अन्यजस्तै उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा राखिएको थियो । महमूदलाई हिरासतमा राख्नुको पछाडि सुरक्षा कारण पनि बताइयो ।

जुलाई २७ मा डिटेक्टिभ ब्रान्चले थप दुई विद्यार्थी नेतालाई पक्राउ गरेको थियो । उनीहरुको नाम सर्जिस आलम र हसनत अब्दुल्ला थियो । उनीहरुलाई डिटेक्टिभ ब्रान्चको कार्यालयमा राखिएको थियो । जुन २८ गते उनका परिवारका सदस्यले उनलाई भेट्न अनुमति मागेका थिए तर भेट्न दिएनन् । तर यसअघि इस्लाम, महमुद र उनीहरूका सहकर्मीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आन्दोलन फिर्ता लिन आह्वान गरेका थिए । रिपोर्टका अनुसार प्रहरीले जबरजस्ती कुटपिट गरी भिडियो बनाएको थियो । महमूदलाई इन्जेक्सन दिइएको थियो जसका कारण उनी धेरै दिनसम्म बेहोस रहेको बताइएको थियो ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा उत्रिएपछि अगस्त १ मा उनी हिरासतबाट रिहा भएका थिए । अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरे । हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि एकपटक बयान दिएका छन् । उनले देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने बताएका छन् । 

अबुबकर मजुमदार :  अबु बकरले शेख हसिनालाई सत्ताबाट हटाउनमा पनि भूमिका खेलेका छन् । उनी ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन् । फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्छन् । ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गरेका तिह्ये । उनले 'स्वतन्त्रता सेनानी' का आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गरे ।

जुलाई १९ को साँझ धानमण्डी इलाकाबाट केही व्यक्तिले अबुलाई लिएर गएका थिए । त्यसपछि धेरै दिनसम्म उनको कुरा सुनिएन । दुई दिनपछि उनलाई उठाइएका ठाउँकै सडकमा छाडियो । पछि अबुले मिडियालाई प्रहरीले उनलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताए । उनले आन्दोलन फिर्ता लिन अस्वीकार गर्दा प्रहरीले कुटपिट गरेको र घाइते भएपछि नगर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि जुलाई २६ मा प्रहरीले उनलाई फेरि हिरासतमा लिएको थियो ।

यसपटक उनीसँगै आएका मानिसहरूले आफूलाई ढाका महानगरीय प्रहरीको डिटेक्टिभ विंगका अफिसर भएको परिचय दिए । त्यहाँ उपस्थित मानिसहरूले उनलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको बताएका थिए ।

तिनै विद्यार्थी नेताहरुले अब हसिनाले राजीनामा दिएर देश नै छोडेपछि सेनाको सत्ता स्वीकार नहुने भन्दै नयाँ सरकार गठनको माग गरेका छन् । स्थानीय मिडियाका अनुसार उनीहरुले नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको माग गरेका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित