बंगलादेशीहरू गोलीसँग डराउन छा‍डे, सेनाले पनि हात झिक्यो अनि हसिनाले घुँडा टेकिन्

एजेन्सी । ‘एक, दुई, तीन, चार, शेख हसिना डिक्टेटर!’पछिल्ला साताहरूमा बंगलादेशी युवाहरूको मुख्य नारा यही भएको छ। र, तिनको क्रोधको प्रकोपले प्रधानमन्त्री हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेको छ।

१७ करोड जनसंख्या भएको दक्षिण एसियाली मुलुक बंगलादेशमा ७६ वर्षीया हसिनाले २००९ यता अकन्टक शासन गरेकी थिइन्। एक महिनाअघि मात्र उनको राजीनामा माग्ने कुरा सोच्नै नसकिने कुरा थियो।

तर, सोमबार बिहानसम्ममा उनी घातक गतिरोधमा फसिसकेकी थिइन्। सर्वोच्च अदालतले सरकारी जागिरमा अधिकांश आरक्षण हटाएको कयौँ दिन बितिसकेको थियो। तर, सोही माग लिएर सुरु भएको आन्दोलन रोकिने कुनै छाँट थिएन। बरु, उनको राजीनामामा आन्दोलन केन्द्रित भएको थियो।

र, आखिरमा आइतबार भएको झडप र हिंसाले सन्तुलन बिगारिदियो। गत महिना आन्दोलन सुरु भएयता करिब ३ सय जनाको ज्यान गएको छ। आइतबार मात्रै ९० जना मारिए। जसमा १३ जना प्रहरी पनि थिए। बंगलादेशमा आन्दोलनको इतिहासमै एकैदिन यति धेरै मानिस कहिल्यै मारिएका थिएनन्।

मानिसहरूले यसलाई ‘नरसंहार’ भने। र सोमबार हजारौँ हजार मानिस सडकमा निस्किए। उनीहरू देशव्यापी कर्फ्यु उल्लंघन गर्दै राजधानी ढाकातिर बढ्न थाले। यस्तो लाग्थ्यो, बंगलादेशीहरूलाई गोलीको डर लाग्न छाडेको थियो। एउटा राजनीतिक आन्दोलनले जनविद्रोहको रूप लिइसकेको थियो।

हसिनाको यति छिटै देश छाडेर भाग्ने फैसला लिनुमा सेनाको पनि भूमिका छ। जसले उनलाई पद छाड्न दबाब दिएको थियो।विगतमा बंगलादेशमा शासन नै चलाएको सेना अझै पनि सम्मानित छ। राजनीतिमा सेनाको प्रभाव पनि अत्यधिक छ। सप्ताहन्तमा भएको हिंसा र फेरि हुनसक्ने हिंसाको सम्भावनाले सैन्य नेतृत्वलाई आफ्ना विकल्पहरूमा पुनर्विचार गर्न बाध्य बनायो।

सेनाका कनिष्ठ अधिकारीहरूले नागरिकमाथि गोली हान्ने आदेश आए के गर्ने भनेर सेनाप्रमुख जर्नेल वकर उज जमानसँगको बैठकमा शुक्रबार नै चिन्ता व्यक्त गरिसकेको बीबीसीले उल्लेख गरेको छ।अब के हुन्छ, स्पष्ट छैन। तर, जर्ने जमान विपक्षी, नागरिक समाजलगायत सबैपक्षसँग छलफलमा छन्। उनले अन्तरिम सरकार गठनको प्रयास भइरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित