नोबेल पुरस्कार विजेता युनुस बन्न सक्छन् बंगलादेशको अन्तरिम प्रधानमन्त्री

एजेन्सी । आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले मंगलबार बिहान नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार गरिने बताएका छन् । युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए ।

उनले गरिबी विरुद्धको अभियानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । विद्यार्थी आन्दोल चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छोडेकी थिइन् । उनले देश छोडेपछि पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् । बंगाली अखबार प्रथम आलोका अनुसार अवामी लिगसँग सम्बद्ध नेताहरूले शेख हसिनाले देश छोडेका कारण उनीहरूले आन्दोलनकारीहरूको क्रोधको सामना गरिरहेको बताएका छन् ।

‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो । उनी बंगलादेशको ग्रामीण बैंकका संस्थापकसमेत हुन् । पछिल्लो समय उनी नागरिक अभियन्ताका रूपमा समेत सक्रिय छन् । सोमबार राति पत्रकार सम्मेलनमा विद्यार्थी आन्दोलनका संयोजक नाहिद इस्लामले २४ घण्टाभित्र अन्तरिम सरकार गठन हुनुपर्ने बताएका हुन् ।

सोमबार राति नै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि पहल गर्न भनिसकेका छन् । राष्ट्रपति भवनमा सेना प्रमुख, जलसेना प्रमुख, वायुसेना प्रमुख, विभिन्न दलका नेता र नागरिक समाजका अगुवाहरूसँगको कुराकानीपछि राष्ट्रपतिले अन्तरिम सरकार गठन गर्न भनेका हुन् । त्यसअघि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेसँगै सेना प्रमुख जनरल वाकर उज जमानले छिट्टै नै अन्तरिम सरकार गठन हुने बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित