वीरगन्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै आयात गरिने खाना पकाउने ग्यास (एलपीजी) र हवाई इनधनमा कमी आएको छ।गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णका अनुसार, आर्थिक वर्ष २०७९/८० मा वीरगन्ज नाका प्रयोग गरी ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिक टन खाना पकाउने ग्यास आयात गरिएको थियो। गत आर्थिक वर्ष ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिक टन ग्यास आयात भएको छ। ११ हजार दुई सय ३८ मेट्रिक टन कम ग्यास अयात भएको हो।

भन्सार कार्यालयको तथ्यांकअनुसार अघिलो आर्थिक वर्षमा वीरगन्ज नाकाबाट १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकामा गत आर्थिक वर्षमा १८ अर्ब २१ करोडको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी खपत हुने डिजल र पेट्रोलको आयात भने बढेको छ।वीरगन्ज नाकाबाट आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको छ।

आव २०७९/८० मा एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार पाँच सयको डिजल र ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार सात सयको पेट्रोल आयात भएको थियो।गत आवमा एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार पाँच सयको डिजल र ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार सात सयको पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए। उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगन्ज नाकाबाट हुन्छ।

प्रतिक्रिया

सम्बन्धित