मोरङको खुर्सानेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा बाबुको मृत्यु, छोरा घाइते

इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानमा टिपरको ठक्करबाट बाबुको ज्यान गएको छ भने छोरा घाइते भएका छन् । प्रहरीका अनुसार सडकमा गुडिरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसको पछाडि बाबु–छोरा सवार मोटरसाइकल (शुक्रबार) दिउँसो ४ः४५ बजेतिर ठोक्किएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बसले अचानक ब्रेक लगाउँदा ठोक्किएको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको हो । ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का २२ वर्षीय रञ्जित मगर र पछाडि सवार उनका बुवा ६९ वर्षीय रामबहादुर मगर घाइते भएको उनले बताए ।

बस्नेतका अनुसार गम्भीर अवस्थाका रामबहादुरलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याई पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । घाइते रामबहादुरको टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुर्घटनामा परेर घाइते भएका मृतकका छोरा रञ्जितको नोबेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था मध्यम छ ।
 
दुर्घटनालगत्तै घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले मोटरसाइकल, टिपर, बस र बसका चालक उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय राजकुमार विकलाई नियन्त्रणमका लिएको छ । टिपर चालक फरार रहेकाले खोजी तीव्र पारिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित