उर्लाबारीका सुवास तामाङ : पाँच वर्ष जेल बसेर छुटेलगतै फेरि अपराध : घरमै बोलाएर युवकको विभत्स हत्या

इटहरी । मोरङको उर्लाबारीमा छुरा एक युवकको छुरा प्रहार गरी हत्या गरिएको छ । उर्लाबारी नगरपालिका– ४ का २१ वर्षीय कुशल दाहालको मंगलवार राति छुरा प्रहार गरी हत्या गरिएको हो । उर्लाबारी– ५ का सुवास तामाङसहितको समूहले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

मंगलवार साँझ साढे ६ बजेतिर आफ्नै घरमा बोलाएर कुशलको विभत्स हत्या गरेको पाइएको मोरङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (एसपी) नवराज कार्कीले बताए । मोबाइल चोरी गरेको आरोप लगाएर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी कार्कीले जानकारी दिएका छन् । ‘आरोपी सुवास तामाङले मंगलवार साँझ साढे ६ बजेतिर कुशल दाहाललाई आफ्नै घरमा बोलाएका रहेछन्,’ उनले भने, ‘त्यसपछि कुशलसहित उनका साथी दुईटा स्कूटरमा गएका रहेछन् । जानेबित्तिकै तैंले किन मेरो मोबाइल चोरिस् भनेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।’

सुवास र कुशल एकअर्कामा चिनजानकै मानिस भएको प्रहरीले जनाएको छ । उनीहरूबीच आउजाउ भइरहने गरेको पनि खुलेको छ । उक्त मोबाइल कुशलले चोरे–नचोरेको भन्ने पुष्टि भइनसकेको एसपी कार्कीले बताए । मृतक कुशलको शरीरका विभिन्न भागमा छुराले हानेको चोटपटक पाइएको छ ।

प्रहरीका अनुसार सुवासको समूहले कुशललाई पहिले घुँडा टेक्न लगाएर यातना दिएको थियो । त्यसपछि उनीहरूले टाउकोलगायत शरीरका विभिन्न अङ्गमा हानेको पाइएको छ । ‘टाउकोबाट रगत बगेपछि कुशल भाग्न खोजेछन् । त्यसपछि किचनबाट छुरा ल्याएर सुवासले प्रहार गरेको देखिएको छ,’ एसपी कार्कीले भने । 

कुटपिट र छुरा प्रहारबाट गम्भीर घाइते भएका कुशललाई उपचारका लागि केही युवाले उर्लाबारीकै गोदाबरी अस्पतालमा लगेका थिए । सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल पठाइएको थियो । त्यहाँ उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

आरोपी सुवास लागुऔषध प्रयोगकर्ता समेत भएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनले घटना घटेको समयमा मादकपदार्थ सेवन गरेको पनि पाइएको एसपी कार्कीले बताए ।   हत्याका मुख्य आरोपी सुवासलाई भने प्रहरीले बुधवार मात्र पक्राउ गरेको छ । धरानतिर गइरहेका बेला उनलाई मोरङको बलियाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आपराधिक पृष्ठभूमिका सुवास घरमा एक्लै बस्दै आएको प्रहरीले जनाएको  छ । उनी यसअघि पनि कर्तव्य ज्यान मुद्दामा तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न भएपछि जेलमा परेका थिए । 

सुवासमाथि २०७१ असोज ९ गते कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद ठहर भएको थियो  । २०७६ सालको प्रजातन्त्र दिवसका दिन उनी छुटेका थिए । तर त्यसलगतै ज्यान मार्ने उद्योगमा उनी पक्राउ परेका थिए । त्यसपछि २०७७ भदौ ८ गते कैद भुक्तान गरी छुटेका थिए ।

उनी त्यसपछि लागुऔषध प्रकरणमा पक्राउ परेका थिए । ब्राउन सुगरसहित पक्राउ परेका उनी २०७७ कार्तिक ७ गते एक लाख रुपैयाँमा धरौटीमा छुटेका थिए ।  यस्तै सुवासमाथि अभद्र व्यवहार मुद्दा पनि चलाइएको थियो । २०८० असोज २४ गते उनलाई एक लाख धरौटी माग गरिएको थियो । धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भएका थिए । तर उनी भोलिपल्ट नै धरौटी तिरेर छुटेका थिए ।  थप अनुसन्धानबाट अन्य कुरा खुल्दै जाने मोरङ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित