पेरिस ओलम्पिक : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं । पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन् ।  फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’ को खेलमा विश्व वरियताको ४३औं स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चेका थिए । 

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा छ र दोस्रो सेटमा चार अङ्क जोडेका थिए । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अङ्क बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो । उनले टोकियो ओलम्पिक २०२० मा पनि खेलेका थिए ।

विश्व वरियतामा एक सय ७२औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।

समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औं विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित चार खेलाडी छन् । ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलो पटक सहभागिता जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित