मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजातिको माछा

इटहरी । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ। बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन्।

अनुसन्धानकर्ता जसहाङ लिम्बु, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन्। 

लिम्बु लगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेको थियो।

 सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा ‘गारा केम्पी’ माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालका लागि नयाँ भएको जानकारी अनुसन्धान कर्तामध्ये एक जसहाङ लिम्बुले जानकारी दिए। 

‘विराटनगर–रङ्गेली रोडमा पर्ने लोहन्द्रा पुल आसपासबाट यो माछाका ३० देखि ४० ग्रामका जिउँदो नमुना सङ्कलन गरिएको थियो। यसको शरीरका १८ किसिमका नापहरू लिइयो, जसमा धेरै कुरा अरु प्रजातिभन्दा भिन्न पाइयो र नयाँ प्रजाति भनी दाबी गरियो र पुष्टि पनि भयो,’ फरक प्रजाति हो भनी पुष्टि गर्न गारा जातिका अरु १९ प्रजातिसँग आणविक बनावटको तुलना गरिएको लिम्बुले बताए।

प्रतिक्रिया

सम्बन्धित