कोशी सरकारबाट बाहिरियो माओवादी

इटहरी । नेकपा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज (शुक्रबार) माओवादी केन्द्रबाट सरकारमा सहभागी चार मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

सरकारबाट बाहिरिए पनि कोशी सरकारलाई दिएको समर्थनबारे निर्णय गरिसकेको छैन । समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि निर्णय लिइने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै आङ्बोले उपधारा ५ अनुसार बनेको सरकारको समर्थन लिँदा सबै सांसदहरू भेला हुनुपर्ने भएको कारण पछि धकेलिएको बताए । 

‘उहाँले वाम गठबन्धनलाई जोगाउँछु भन्नु भएको थियो,’ आङ्बोले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रष्ट निर्देशन दिनुभएको थियो । तर, अहिले सहमतिको सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हौँ ।’

कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन् । यस्तै, पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् । संविधानको धारा १६८ (५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित