मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?

इटहरी । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को लागि मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले यसअघि नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारमा डा. युवराज खतिवडाको नियुक्तिसँग रोकिएको थियो ।

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले आज बिहान सञ्चालक समितिको बैठक बोलाएको छ । उक्त बैठकले मौद्रिक नीति परित गरेपछि आज मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको गभर्नर रहीसकेका पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्री ओलीको सल्लाहकारमा नियुक्त भएसँगै मौद्रिक रोकिएकोमा आज सार्वजनिक हुन लागेको हो ।

आज सार्वजनिक हुने मौद्रिक नीति बाह्य अर्थतन्त्र बलियो बन्दै गएको सन्दर्भमा आन्तरिक अर्थतन्त्रलाई पनि बलियो बनाउनेतर्फ केन्द्रित हुने बताइएको छ । अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच राम्रो ट्युनिङ मिलेकाले कार्यान्वयनमा सहज हुने गरी मौद्रिक नीति ल्याइने स्रोतले बताएको छ ।

मौद्रिक नीतिप्रति निजी क्षेत्रको पनि उत्तिकै चासो छ । त्यस्तै शेयर बजारका लगानीकर्ताहरूले पनि मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् । त्यसैले निजी क्षेत्र र बैकिङ क्षेत्रको अपेक्षा सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

‘शेयर बजार, घर जग्गा कारोबार र उत्पादन क्षेत्रलाई केन्द्रित गरेर मौद्रिक नीति आउने छ । शेयर धितो कर्जालाई व्यक्तिका हकमा ३० करोड र संस्थाका हकमा ५० करोड बनाउन खोजिएको छ । घर जग्गा कर्जाको सीमा बढाउने तयारी रहेको छ । बैकले प्रवाह गर्ने कुल ऋणको कति प्रतिशत कुन क्षेत्रमा ऋण प्रवाह गर्ने सीमामा पनि केही हेरफेर हुने छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कर्जाको ३ प्रतिशतसम्म कर्जा शेयर धितोमा दिन सक्ने व्यवस्था गर्ने तयारी रहेको छ’, राष्ट्र बैंक स्रोतले भन्यो ।

बजेटले समेट्न नसकेको क्षेत्रमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न निजी क्षेत्रले माग गरिरहेका छन् । नयाँ बजेट आउँदा निजी क्षेत्रले आफूहरूले अपेक्षा गरेअनुसारको बजेट नआएको बताएका थिए । उता शेयर लगानी कर्ताहरूले पनि लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित