‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ

अमेरिकाको राष्ट्रपति बन्ने कोसिसमा रहेकी कमला ह्यारिसले चुनावी अभियान सुरु गरिसकेकी छन्। तर, वासिङ्टनभन्दा १४ हजार किलोमिटर टाढाको एउटा भारतीय गाउँ उनलाई आफ्नो मान्छ। ह्यारिसका मावली बाजेबज्यै चेन्नईबाट ३ सय किमि टाढाको तुलसेन्द्रपुरमका थिए।अहिले त्यो गाउँको केन्द्रमा ह्यारिसको ठूलो ब्यानर लगाइएको छ।

चुनावमा उनको सफलताका लागि स्थानीय देवीदेवताको विशेष पूजाअर्चना चलिरहेको छ, मिठाइ वितरण भइरहेको छ। सो गाउँको मन्दिरका लागि दान दिने दाताहरूको सूचीमा ह्यारिस र उनका बाजेको नाम पनि देख्न सकिन्छ। बाइडेनले पछि हट्ने निर्णय गरेसँगै यो गाउँका बासिन्दा अमेरिकी चुनावलाई राम्ररी नियालिरहेका छन्।

‘उनी जहाँ पुगिन्, त्यहाँ पुग्नु सजिलो छैन,’ अवकाशप्राप्त ब्यांक म्यानेजर कृष्णमूर्ति भन्छन्, ‘हामी उनीप्रति गर्व गर्छौं। कुनैबेला विदेशीहरूले भारतीयमाथि शासन गर्थे। आज भारतीयहरूले शक्तिशाली मुलुकको शासन चलाइरहेका छन्।’खासगरी महिलाहरूमा गर्वको भाव देख्न सकिन्छ। उनीहरू ह्यारिसलाई आफ्नै मान्छन्।

‘हरेकले उनलाई चिन्छन्, बच्चाले समेत। उनलाई दिदी, आमा भनेर पुकार्छन्,’ स्थानीय जनप्रतिनिधि अरुलमोजी सुधाकर भन्छन्, ‘उनले आफ्नो मूल बिर्सेकी छैनन्, हामी खुसी छौँ।’ह्यारिस उपराष्ट्रपति हुँदा पनि यो गाउँ पटाकाको आवाजले गुन्जिएको थियो, भित्ताहरू पोस्टर र क्यालेन्डरले रंगिएका थिए।सामूहिक भोज पनि आयोजना गरिएको थियो, जसमा स्थानीय परिकारहरू साम्बर र इडली खाइएको थियो। ह्यारिसका एक नातेदारका अनुसार यो उनको प्रिय खानामा पर्छ।

भारतीय मूल
ह्यारिस श्यामला गोपालनकी छोरी हुन्। स्तन क्यान्सर अध्येता रहेकी श्यामला तमिलनाडुमा जन्मेकी थिइन्। १९५८ मा उनी अमेरिका गइन्। श्यामलनका आमाबुबा तुलसेन्द्रपुरमका बासिन्दा थिए।‘मेरी आमा श्यामला १९ वर्षको उमेरमा भारतदेखि एक्लै अमेरिका आएकी थिइन्। उनी सशक्त थिइन्। उनी वैज्ञानिक, नागरिक अधिकारकर्मी र एक आमा थिइन्, जसले आफ्ना दुई छोरीमा गर्वको भाव जगाइन्,’ ह्यारिसले गतवर्ष सामाजिक सञ्जालमा भनेकी छन्।

आमाको मृत्युपछि ह्यारिसले बहिनीको साथमा चेन्नई भ्रमण गरिन् र उनको अस्तु समुद्रमा बगाइन्।ह्यारिसको परिवारका सदस्य सफल छन्। उनका मामा गोपालन बालाचन्द्रन प्राज्ञ हुन्। उनका बाजे पीभी गोपालन उच्च तहको कर्मचारी थिए, जो शरणार्थी पुनर्वासका विज्ञ थिए। उनी १९६० को दशकमा जाम्बियाका प्रथम राष्ट्रपतिका सल्लाहकार समेत बनेका थिए।

‘कमला विशिष्ट व्यक्ति बनेको लामो समय भइसक्यो। यो अचम्मको कुरो होइन। यस्तो होला भन्ने लागेको धेरै वर्ष भइसक्यो,’ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटीका सैद्धान्तिक भौतिकशास्त्रका प्राध्यापक तथा ह्यारिसकी आमाका सहपाठी आर राजारमन भन्छन्।पढाइ सकिएपछि श्यामलासँग सम्पर्क टुटेको तर १९७५ आसपास बर्कली जाँदा उनलाई भेटेको सम्झिन्छन् राजाराम।

‘श्यामला त्यहीँ थिइन्। उनले मलाई एक कप चिया दिइन्। उनका दुई बच्चा (कमला र माया) पनि त्यहीँ थिए, उनीहरूले वास्ता गरेनन्,’ उनी भन्छन्, ‘उनीहरू चलाख थिए। उनीहरूकी आमामा सकारात्मकता थियो। जुन कमलामा पनि छ।’तुलसेन्द्रपुरममा ह्यारिसको उम्मेदवारी पार्टीबाट चाँडै घोषणा हुने अपेक्षा छ।

‘कमलाकी चिट्टी (सानिमा) सरला यो मन्दिर आइरहन्छिन्। २०१४ मा उनले कमलाको नामबाट ५ हजार दान दिएकी थिइन्,’ मन्दिरका पुजारी नटराजन भन्छन्।उनीहरूको पूजाआजाले कमलालाई जित्न सहयोग पुग्नेमा नटराजन विश्वस्त छन्।आफूहरू हजारौँ माइल टाढा भए पनि ह्यारिसको यात्रामा सँगसँगै रहेको गाउँलेहरूको भनइ छ। उनीहरूलाई आशा छ, कुनै दिन ह्यारिसले सो गाउँ भ्रमण गर्नेछिन् वा आफ्नो भाषणमा गाउँको नाम लिनेछिन्। बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित