कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस

इटहरी । ‘के हामी’ परियोजनाले नेपाली युवाहरूलाई कोरिया पुगेपछि र नेपाल फर्किएपछि पुनः एकीकरणका लागि सहज हुने ‘गाइड बुक’ सार्वजनिक गरेको छ । ईपीएसमार्फत कोरिया पुगेर फर्केका युवाहरूलाई पुनः एकीकरणका लागि सहजीकरण गर्न नेपाल सरकार र दक्षिण कोरिया सरकारको पहलमा सुरू गरिएको ‘के हामी’ परियोजनाले चार वटा पुस्तक सार्वजनिक गरेको हो ।

मंगलबार दक्षिण कोरियाली विदेश मन्त्रालयअन्तर्गतको सरकारी विकास सहायता एजेन्सी (कोइका)का देशीय निर्देशक कोङ मुहन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले पुस्तक सार्वजनिक गरेका हुन् ।

परियोजनाले सुखी प्रवासन जीवनका लागि वित्तीय गाइड बुक, आफ्नो भविष्यको परिकल्पना, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श र कोरिया रिटर्नीहरूका लागि पुनः एकीकरणसम्बन्धी जानकारीमूलक पुस्तिका गरी चार पुस्तक सार्वजनिक गरेको छ । कोरियाबाट फर्केका युवाहरूलाई पुनः एकीकरण गर्न सहज हुने तथा वित्तीय साक्षरतामा पनि पुस्तकले सघाउने मन्त्रालयका सहसचिव पाण्डेले विश्वास व्यक्त गरे ।

कोरियामा काम गरेर फर्किएका नेपालीहरूलाई देशभित्रै पुनः एकीकरण गर्न नेपाल सरकार र कोरिया सरकारको पहलमा ‘के हामी’ परियोजना अघि सारिएको छ । कोरियाबाट फर्किएपछि उद्यमशीलताको विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनः एकीकरण गर्ने उद्देश्यले ८० लाख अमेरिकी डलर अर्थात् एक अर्बभन्दा बढी नेपाली रूपैयाँको कार्यक्रम अघि सारिएको छ । खुसी प्रवास, खुसी जीवन उद्देश्यले सुरू गरिएको यो कार्यक्रम सन् २०२८ सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित