बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

वासिंटन । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।

बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् । उम्मेदवारीबाट पछि हटेसँगै पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उम्मेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले आफ्नो सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताए । अमेरिकामा चार महिनापछि राष्ट्रपति पदको चुनाव हुँदैछ ।

आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टीभित्र दवाब बढेको थियो । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । चुनाव आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने हुन्छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित