साउने साेमबार ब्रत आरम्भ : किन बस्ने व्रत ?

आज साउन महिनाको पहिलो सोमवार, देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो । काठमाडौंको पशुपति नाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भीड रहेको छ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ ।

सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा ५ वटा सोमवार परेका छन् । पहिलोपटक व्रत लिनेहरुले ५ वटा सोमवार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ । हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले श्रृष्टि सञ्चालनको जिम्मा लिन्ने शास्त्रोक्त कथन छ । सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमवार आजबाट शुरु भएको छ ।

सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमवार आफैँमा विशेष महत्वको महिना हो । पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमवारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ ।

ज्योतिष शास्त्रानुसार सोमवारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ ।

साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ । संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित