गर्थे एकअर्कालाई धेरै माया, पतिकै चितामा जलेर ‘सती’ गएको आशंका

एजेन्सी । भारतको छत्तीसगढको रायगढ सहरको छेउमा रहेको चितकाकनी गाउँका सुशील गुप्ता आफ्ना बुवासँगै आमाको पनि अन्तिम संस्कार गर्ने अनुमति पाइयोस् भन्नेमा छन्। तर, रायगढ जिल्ला प्रहरीले सुशील गुप्ताकी आमा गुलापी गुप्ता आइतबार रातिदेखि बेपत्ता भएको जनाएको छ। 

गाउँवासी भने गुलापी गुप्ता आइतबार राति ६५ वर्षीय श्रीमान् जयदेव गुप्ताको चितामा जलेर ‘सती’ गएको दाबी गर्छन्। कतिपयले यसलाई ‘आत्मदाह’ भनेका छन्।गुलापी गुप्ताले ‘आत्महत्या’ गरेको भनिएको श्मशानस्थल अहिले प्रहरीको निगरानीमा छ। मुख्य सडकमा सादा पोसाकमा सशस्त्र प्रहरी तैनाथ छन् र आउने–जाने सबैको निगरानी गरिरहेका छन्।श्मशानस्थलमा कुनै धार्मिक कार्यक्रम हुनसक्ने आशंका प्रहरीको छ।

श्मशान स्थल सुशीलको घरबाट करिब ५०० मिटर टाढा छ।सुशील गुप्ता भन्छन्, ‘मध्यरातपछि गाउँलेसँग श्मशान स्थलमा पुग्दा आमाको सारी, चप्पल र चस्मा मेरो बुवाको चिताबाट केही टाढा भेटिएका थिए। मेरी आमाको शव मेरो बुबाको चितामा लगभग जलेको थियो। त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौँ।’

रायगढ सहरबाट करिब २० किलोमिटर पर रहेको कोटार्लिया पञ्चायतको चितकाकनी गाउँ ओडिसाको सिमानाबाट सोही दूरीमा छ।ओडिसाको हिराकुड बाँधको जलमग्न क्षेत्र पर्सादा जुगनीबाट विस्थापित भएर यस गाउँका धेरै परिवारहरू यहाँ बसोबास गरेका छन्।तीमध्ये एक हुन् कोल्टा समुदायका जयदेव गुप्ता र उनकी श्रीमतीको परिवार पनि। उनीहरू घरबाट केही दूरीमा टेलर पसल गर्थे। 

के भन्छन् गाउँले?

जयदेव गुप्ताका छोरा सुशील गुप्ता
जयदेव गुप्ताका छिमेकी वृद्ध मंगल खमारी भन्छन्, ‘श्रीमान् श्रीमतीबीच धेरै माया थियो। दुवै धेरै सभ्य र शालीन थिए। डेढ वर्षदेखि क्यान्सरबाट पीडित जयदेवको परिवारै उनको उपचारमा व्यस्त थियो। जयदेवको आइतबार रायगढ अस्पतालमा मृत्यु भयो। साँझ करिब ५ बजे उनको श्मशान स्थलमा अन्तिम संस्कार गरिएको थियो।’

राति १० बजेतिर मानिसहरू फर्किएको सुशील बताउँछन्। करिब ११ बजे सुशील उठ्दा उनकी ५७ वर्षीया आमा गुलापी गुप्ता घरमा भेटिएनन्। घरको मुख्य ढोका पनि खुला थियो।धेरै खोजीपछि गाउँलेहरू शवदाह गृह पुगे, जहाँ उनीहरूले चितामा आधा जलेको शव भेटे।गुलापी गुप्ताले श्रीमान्‌कै चितामा जले आत्महत्या गरेको गाउँका सरपञ्च  हरिमती राठियाले बताए।

सरपञ्च राठियाका भतिजा हेमन्तकुमारले भने, ‘राति २:३० बजे श्मशानमा पुग्दा त्यहाँ चिताको आगो बलिरहेको थियो।’सामान्यतया दाउरा तीन–चार घण्टामा जल्छ, त्यसो भए आठ–नौ घण्टासम्म चिताको आगो कसरी बलिरह्यो? हेमन्त भन्छन्, ‘गाउँमा हरेक घरबाट काठ संकलन गरिन्छ। काठले ट्र्याक्टर भरिन्छ र सबै काठ चितामा हालिन्छ। यति काठले तीन/चार जनाको दाहसंस्कार गर्न सकिन्छ।’

चक्रधरनगर प्रहरी चौकीका एक प्रहरी जवानले नाम नछाप्ने सर्तमा भने- श्रीमान्-श्रीमतीबीच धेरै माया थियो। जयदेव गुप्तालाई बाल्यकालदेखि नै चिन्ने वासुदेव प्रधान भन्छन्, ‘जयदेव बाल्यकालमा मभन्दा एक कक्षा अगाडि पढ्थे। उनी यस क्षेत्रका चर्चित दर्जी थिए। श्रीमान्–श्रीमतीबीच धेरै माया थियो र बजार होस् या खेतबारी, दुवै जना पति–पत्नी सँगै काम गर्न जाने गर्थे।’ 

प्रतिक्रिया

सम्बन्धित