माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभावित

एजेन्सी । आज (शुक्रबार) विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । धेरै टेलिभिजन तथा ब्रोडकास्ट कम्पनीहरूको प्रसारण पनि रोकिएको छ । माइक्रोसफ्टको सर्भर डाउन हुनाले यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ । बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोकिने सम्भावना रहेको जनाइएको छ । एउटा ठूलो ट्रेन कम्पनीले धेरै मात्रामा आईटी समस्या आएकोले ट्रेन सञ्चालनमा असर गर्न सक्ने बताएको बीबीसी समाचारमा उल्लेख छ ।

आइटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक–इनमा समस्या आएको छ । आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरु भएको रिपोर्ट गरिएको छ । बेलायतमा स्काई न्यूज च्यानल बन्द भएको छ । अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवामा बाधा उत्पन्न भएको जनाइएको छ ।

अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ । लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ । नेपालमा पनि एयरलाइन्सहरूकोमा टिकट बुकिङ्ग लगायतमा समस्या आइरहेको बताइएको छ । 

भारतका एयरलाइन्समा पनि यसको असर देखिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । चार एयरलाइन्स–इन्डिगो, स्पाइसजेट, अकासा एयर र एयर इन्डिया एक्सप्रेसले प्राविधिक समस्याका कारण बुकिंग, चेक–इन र उडान अपडेट सेवाहरू प्रभावित भएको जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित