बङ्गलादेशमा आरक्षणको विरोधमा प्रदर्शन : मृत्तकको संख्या १९ पुग्यो

एजेन्सी । बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन् । सरकारी जागिरमा आरक्षणको व्यवस्था सम्बन्धी देशभर जारी विरोध प्रदर्शन थप तीव्र बन्दै गएको बीबीसीले जनाएको छ ।

प्रदर्शनका कारण देशभरको इन्टरनेट सेवा ठप्प छ भने विद्यालय र विश्वविद्यालयहरू अनिश्चितकालका लागि बन्दं गरिएका छन् । सरकारी जागिरमा आरक्षणको व्यवस्था अन्त्य गर्नुपर्ने मागसहित त्यहाँका नागरिक विशेषगरी विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

बङ्गलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूको छोराछोरीलाई आरक्षण दिइएको छ । तर, आलोचकहरूले आरक्षणको उक्त व्यवस्था बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनालाई समर्थन गर्ने समूहका छोरोछारीलाई दिने गरेको आरोप लगाएका छन् ।

बङ्गलादेशमा पछिल्लो केही दिनदेखि सरकारी जागिरमा आरक्षणको उक्त व्यवस्थालाई अन्त्य गर्नुपर्ने भन्दै विरोध प्रदर्शन हुँदै आएको छ । सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रताको लडाई पछि पाकिस्तानसँग छुट्टिएको थियो । यसअघि पनि विरोध हुँदा सन् २०१८ मा अदालतले सरकारको उक्त व्यवस्थामा रोक लगाएको थियो । तर, गत महिना मात्रै एक अदालतले फेरि आरक्षणको व्यवस्थालाई लागू गरिदिएको छ । 

प्रतिक्रिया

सम्बन्धित