पाथीभरामा भक्तजनकाे घुइचाे , दर्शन गर्नकैलागि एक वर्षमा पुगे दुई लाख बढी भक्तजन

ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । 

आवको २०८०/८१  पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरामा विशेषगरी बडादसैं र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैंको समयमा ४९ हजार एक सय ६३  भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । 

समितिका अनुसार मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५ र माघमा छ हजार चार सय एकजनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र  चैतमा ५२ हजार चार सय ५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा आठ हजार छ सय २९ र असारमा दुई हजार सात सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ । 

यस्तो छ पाथीभराको महिमा
पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । यहाँ अझै मन्दीरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजीकै २०७७ सालमा कीराँत मन्दिर भने बनेको छ जस्को प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ । 

तत्पश्चात पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायीक आराध्या स्थल बन्न पुगेको छ । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ ।

फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरा पहाडलाई ‘मुकुम्लुङ’ भनेर चिन्दछन । लिम्बू भाषामा ‘मुकुुम’को अर्थ शक्ति वा बल, ‘लुङ’ को अर्थ ढुंगा भन्ने जनाउँदछ । अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित