बंगलादेशमा चर्कियो विद्यार्थी प्रदर्शन, नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

एजेन्सी । सरकारी नोकरीमा आरक्षणको विरोध गर्दै बंगलादेशका विद्यार्थीले प्रर्दशन चर्काएपछि त्यहाँका विश्वविद्यालयहरूको माहोल अशान्त बनेको छ। प्रदर्शनका कारण विश्वविद्यालय र शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द भएको भन्दै बंगलादेशस्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई सुरक्षित रहन आग्रह गरेको छ। 

बुधबार एक सूचना जारी गर्दै दूतावासले  नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ।’

मेडिकल शिक्षा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी बंगलादेशमा रहेका छन्। दूतावासले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको समेत बताएको छ।

बंगलादेश सरकारले सन् १९७१ को स्वतन्त्रता युद्धमा लडेका परिवारका सदस्यहरूलाई सरकारी सरकारी जागिरमा आरक्षण दिने निर्णय गरेपछि विद्यार्थीहरू त्यसको विरोधमा उत्रिएका हुन। हिंसात्मक झडपमा कम्तिमा पनि हजार विद्यार्थी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जानएका छन्।

प्रतिक्रिया

सम्बन्धित