सुनकाे मुल्य अहिले सम्मकै उच्च : ताेलाकै पुग्याे डेढ लाख

इटहरी । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार (साढे १० बजे) सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन्छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम एच पावेलले सोमबार मात्रै ब्याजदर कटौतीका लागि अब मुद्रास्फिति कुर्न नपर्ने प्रतिक्रिया दिएका थिए । उनको यहीं भनाइका कारण अमेरिकाले ब्याजदर घटाउने विश्वास लगानीकर्तामा बढेको र त्यसले सुनको मूल्य उचाइमा पुगेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । 

‘हामीलाई दोस्रो त्रैमासिक रिपोर्टले बढी आत्मविश्वास दिएको छ, मूल्यवृद्धि घट्दो छ, श्रम बजार सन्तुलित भएको छ, यी दुई पक्षका कारण अब ब्याजदर कटौतीका लागि लक्षित २ प्रतिशतको मुद्रास्फिति कुर्न पर्दैन’ सोमबार उनले वासिङटन डीसीको इकोनोमिक क्लबमा भनेका थिए । ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । कमोडिटी बजारमा सीमित आपूर्तिका बाबजुत माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित