इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित

 इटहरी । इटहरी उप-महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो। असार १० गते नगर सभामा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेश गरेका थिए ।

नेकपा एमालेले औपचारिक रुपमा बिरोध जनाएको उपमहानगरपालिकाको बजेट सोही आकारमा पारित भएको छ । असार १० गते सोमबार राती प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्त (आज)सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बहुमत नगर सभा सदस्यको समर्थनमा पास भएको हो । उपमेयर सङ्गिता चौधरी अनुपस्थित भएपछि वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन बिधेयक र अर्थ बिधेयकमा छलफल चलाएका हुन् ।

यस अघि नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरेपनि आज बहुमत सदस्यले छलफलमा सहभागीता जनाएका हुन् । पारित भएको बजेटमा संघीय समानिकरण अनुदान २९ करोड ५६लाख, संघिय ससर्त अनुदान चालु तर्फ ४९ करोड ४३ लाख र संघिय ससर्त अनुदान पुजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ ।

त्यस्तै संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो । प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख , प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।

संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो । चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ ।

वित्तिय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात कुल बजेटको ०.२५ प्रतिशत र पुँजिगत तर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ । जस मध्ये बिषयगत तर्फ ३० करोड, वडा सिमा तर्फ ३८ करोड, नगरस्तरिय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित